
पोखरा, १४ भदौ । यही भदौ १२ गते शुक्रबार बेलुका बीबीसी नेपाली सेवामा रमा पराजुलीले चलाएको बहस कार्यक्रममा बोलेका केहि अभिव्यक्तिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी विवादमा तानिएका छन् ।
अधिकृत रेग्मीले पर्वतीय पर्यटन र यससँग आबद्ध हजारौं पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको, तल्लो स्तरको भाषा प्रयोग भएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान)ले आज आइतबार विज्ञप्ति जारी गरेको छ ।
कोभिड–१९ को संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी राहात तथा पुनरुत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन पर्ने जिम्मेवार निकायका पदाधिकारीबाट व्यक्त यस भनाइप्रति टान पूर्णरुपले घोर भत्र्सना गर्दै सार्वजनिक रुपमा माफी मागी गल्ती सच्याई अघि बढ्न आग्रह गरिएको छ ।
‘पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा, प्रस्तुति र शैलीसहित शब्द र भनाइहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पदमा रहनुभएका पदाधिकारीबाट व्यक्त भएकोमा टानको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँछौं’– विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीद्वारा व्यक्त भनाई तथा विचारहरुलाई यस संस्था पूर्ण रुपमा घोर भत्र्सना गर्दै खारेज गर्दछ ।’
त्यसैगरि युनिट्राभका केन्द्रीय अध्यक्ष सुमन पराजुली भने, “पर्यटन बोर्ड जस्तो गरिमामय संस्थाको कार्यकारी प्रमुखले कहिले मजदुरलाई बिबादमा तान्ने त कहिले ब्यबसायीलाई झोले कम्पनी भनि आरोप लगाउनुले अब भोली कुन संस्थालाई के भन्नुहुन्छ भन्ने पिरलो पो देखियो । त्यसकारणले गर्दा उहाँ अब पॉंच वर्षका लागी बिदा भएर घरमै आराम गर्नुको बिकल्प छैन र सरकार सँग हामी माग समेत गर्दछौं ।”
खासगरी पदयात्रा तथा पर्वतीय पर्यटन संबद्ध व्यवसायीहरु लक्षित प्रश्नको जबाफमा उनले ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रलाई इंगित गर्दै कम्पनीले कम्ती १० जनालाई रोजगारीसम्म नदिएको, आफ्नै परिवार सदस्य दाजुभाई मिलि काम गरेको, ट्याक्स नतिरेको र झोलामा राखेर कम्पनी चलाएको जस्ता पर्वतीय पर्यटन आवद्ध व्यवसायी र मजदुरहरुलाई अपमानजन्य तरिकाले होच्याउदै उनीहरु राहतको लागि अयोग्य रहेको इंगित गरी अन्तरवार्ता दिएकोमा आपत्ति जनाएको छ ।
पर्वतीय पर्यटन क्षेत्रमा आवद्ध प्रत्येक पर्यटक, व्यवसायी र मजदुरसंग जोडिएको टिम्स कार्डबाट उठेको रकमबाट नेपाल पर्यटन बोर्डको बार्षिक बजेटको प्रमुख हिस्सा चल्दै आएको प्रष्ट हुदाँहुदै त्यही पेशामा संलग्न व्यवसायी र मजदुरहरुलाई यसरी होच्याउने शव्द र भनाइप्रति प्रतिक्रिया आउनु दुखद भएको पर्यटन व्यवसायीहरुको भनाइ छ।
यस सन्दर्भमा टान पश्चिमान्चल संघका सचिब जीवनराज सापकोटाले भने, “नेपालको समर्ग पर्यटन व्यवसायको एक जिम्मेबार पदमा आशिन व्यक्तिले व्यवसायी र श्रमिक वर्गलाई नै आत्मामा चोट पुर्याउने गरी यस्तो बिषम परिस्थितीमा व्यवसायीलाई नैरास्यता बढाउने गरी बिबिसी जस्तो संचार माध्यमवाट बिचार प्रस्तुत हुनु आफैमा दुखद छ । यस महामारीको समयमा व्यवसायी र श्रमिक वर्गलाई यसै क्षेत्रमा टिकाई राख्न महत्वपुर्ण भुमिका नेपाल पर्यटन वोर्डले खेल्नुपर्छ र यस संम्बन्धमा हाल सम्म पनि पर्यटन वोर्ड ठोस कार्यक्रमका साथ अगाडी वढन सकेको छैन । पर्यटन वोर्ड जस्तो गरिमामय सस्थांले सवैलाई आशावादी बनाउने हो, हिजोका दिनमा पर्यटन क्षेत्रको विभिन्न शिर्षकमा उठाईएका शुल्कहरुको सहि सदुपयोग गर्दै यस क्षेत्रवाट नै विस्थापित हुन लागेका व्यवसायी र श्रमिकलाई संरक्षित गर्ने हो ।”
यसैबीच पर्बतिय पर्यटनलाई दिगो, सम्मानित र व्यवस्थित बनाउनको लागि रचनात्मक बहस र सकारात्मक भुमिका खेल्दै आएको दिगो पर्बतिय पर्यटन संजाल– नेपालका अंबर बमजन तामाङले उक्त भनाइको बिरोध गर्दै कम्पनी, गाइड, भरियाको लागि केहिपनि फाइदा नहुने FIT TIMS कार्ड बेच्ने पर्यटन बोर्डले जिम्मेवारी अरुमाथी थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन। सिइओ डा. रेग्मीको उक्त भनाइको सामाजिक संजालमा पनि तीब्र विरोध भएको छ।
टानद्वारा जारी विज्ञप्ति
