२४ घण्टामा एक हजार २२१ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ भदौ । पछिल्लो २४ घण्टामा थप एक हजार २ सय २१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज आइतबार संक्रमित हुनेहरुमा ३४८ जना महिला र ८७३ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा ६ हजार ९ सय जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ५ सय १८ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा ७ हजार ७ सय ९७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २० हजार ८ सय २२ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: