
फाइल तस्बिर
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रमुख शेरचनले एक विज्ञप्ति जारी गरी ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ का दर्जनौं घरलगायतका भौतिक संरचना बगाएको तथा दर्जनौं बेपत्ता भएको खबरले स्तब्ध पारेको उल्लेख गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘बाढीमा परी बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्दारका लागि खट्नुहुने स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाप्रति हार्दिक आभार प्रकट गरेका छन् ।’ विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस घडीमा तत्काल उद्दार, राहत, पुनस्र्थापना तथा बाढीका कारण जोखिममा परेका वरपरका बस्ती संरक्षणमा तदारुकताका साथ आवश्यक प्रबन्ध मिलाउन सरकार एवं सम्बन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछु ।’

यसैगरी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
‘सङ्कटको यस घडीमा खोजी, उद्धार तथा उपचारमा खट्नेप्रति धन्यवाद व्यक्त गर्दछु’, उनको वक्तव्यमा भनिएको छ, ‘बाढी पहिरोमा परी बेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको ध्यानार्कषण गराउँदै प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ ।’
नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा हालसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यस्तै बाढीमा बेपत्ता हुनेको सङ्ख्या ४१ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दश जनाको शव क्षत्विक्षतरुपमा फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पु¥याएको छ ।