बाग्लुङ ढोरपाटन पहिरोः ८ जनाको शव भेटियो (अपडेट)

-


     मर्दी न्युज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित


बागलुङ । बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ४० जना अझै बेपत्ता रहेका छन् ।

शव भेटिएकामध्ये २ जनाको मात्रै सनाखत भएको छ । उनीहरु ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक र अन्दाजी ४६÷४७ वर्षीय करबहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

शव कतै पुलको लाठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनाराको बालुवामा भेटिएको छ । शवहरु क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

बाढीले सडक क्षतविक्षेत गरेकाले बेपत्ताको खोजि गर्न पनि कठिन भएको छ । बेपत्तामध्ये ३ जना सम्पर्कमा आएको र खोजी कार्य जारी रहेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

हाल बेपत्ता ४० जनाका अतिरिक्त अरु पनि बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । आज बिहान १३ जना बेपत्ता भएको जानकारी आएकोमा प्रहरी र सेनाको टोलीले घटनास्थलमा गएर बुझ्दा बेपत्ताको संख्या धेरै रहेको कुरा थाहा भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको छ । बाढीले स्वास्थ्यचौकीको भवन, विद्यालय भवनहरु, विद्युत आयोजनाको भनव लगाएतका भौतिक पुर्वाधारहरुमा पनि क्षति पुर्याएको छ ।

यसैबीच घटनास्थलको निरीक्षणका लागि घटनास्थलतर्फ गएका गृहमन्त्री रामबहादुर थापा मौसम खराबीका कारण घटनास्थल पुग्न नसकी फर्किएका छन् ।



Tags: