
काठमाडौं । बाह्बिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सोही पहिरोमा तीन जनाको शव भेटिएको छ । सो स्थानमा कम्तीमा पनि २७ जना बेपत्ता भईरहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए । पहिरोले पुर्याएको जनधनको क्षति बिवरण संकलन गरिरहेको न्यौपानेले बताए ।

नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । आज राती बस्तीमाथिबाट आएको पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् । भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारकार्य जारी रहेको बताए । स्थानीय खोजी कार्यमा जुटेका छन् ।
सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले उपलब्ध गराएको बाह्रबिसे घुम्थाङको पहिरो स्थल ।





