
सांकेतिक तस्वीर
चितवन । नारायणगढ मुग्लिन सडकमा सोमबार राति पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी गाडी चलाएको केही घण्टामै इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक फेरि पहिरो गएको हो ।
अविरल वर्षासँगै फेरि गएको पहिरोले इच्छाकामना गाउँपालिका–६ पाँचकिलोनजिक बजारका आठ घरमा क्षति पुर्याएको स्थानीयले बताएको छ ।

पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा भ्यान र बलेरो पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिए । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उनले जानकारी दिए । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।