
काठमाडौं । बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने र लुटिएका मुन्द्रा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले म्याग्दी घर भई काठमाडौं बालाजुमा बस्ने ३२ वर्षीय संगीता क्षेत्री र काभ्रे घर भई ललितपुरको सौगलमा बस्ने मुरली बिकलाई मंगलबार पक्राउ गरेको हो।
क्षेत्रीलाई बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको आरोपमा गोकोर्णेश्वर नगरपालिका-८ माकलवारी र लुटिएका मुन्द्रा खरिद गर्ने बिकलाई ललितपुर महानगरपालिका-६ कनिवहालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
पक्राउ परेकी क्षेत्रीले बालबालिकाहरुलाई चकलेट/आईसक्रिम दिई आमाको साथी हुँ भनी ललाइ-फकाइ, प्रलोभनमा पार्ने र डरत्राससमेत देखाइ कानको मुन्द्रा लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसा विभिन्न मितिमा २२ पटक साना बालबालिकाको कानको मुन्द्रा लुटपाट गरिएको छ ।
हालसम्म २० जना अभिभावकहरू प्रहरी सम्पर्कमा आएको र केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।