वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु [अपडेट]

-


     मर्दी न्युज    
     असाेज ८ गते २०७७ मा प्रकाशित


स्याङ्जा । अबिरल वर्षाको कारण स्याङ्जाको छुट्टाछुट्टै दुई ठाउँमा पहिरो जाँदा १० जनाको ज्यान गएको छ ।

वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने, कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे घरमाथिबाट खसेको पहिरोले वालिङ १४ तमादी पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृतक एक जना पाहुना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षीया उमकला नेपाली (पाहुना) , ४८ वर्षीया माया नेपाली , ६० वर्षीया सेनी नेपाली , ३० वर्षीय दिपक नेपाली , ९ वर्षीय दिवस नेपाली , १४ वर्षीय बिक्रम नेपाली , २१ वर्षीय कुलदीप नेपाली, १९ वर्षीय विनीता नेपाली र ६ महिने बच्चा सहित ९ जनाको ज्यान गएको हो ।

सोही पहिरोमा घाइते भएकी १६ वर्षीया मनिषा नेपालीलाई उपचारको लागि पोखरा रिफर गरिएको छ ।

यसैगरी, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा गएराति पहिरो जाँदा २ घर पुरिएको छ । कालिगण्डकी–४, गौतम टोलमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा १६ वर्षीय विष्णु बहादुर परियार ‘दमै’ को मृत्यु भएको हो ।

२ दिनदेखिको लगातार वर्षासँगै राति करिव ३ बजे आएको पहिरोले बाबुराम दमै र जगतबहादुर नेपालीको घर पुरिएको हो ।



Tags: