
भक्तपुर, १० असोज । सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भएका ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।
लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो समेत प्रहरीले बरामद गरेको हो ।
साथै २०७७ साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका–९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका–२ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका–९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको उक्त परिसरले जनाएको छ ।

