
पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार बिहान जारी अध्यावधिक विवरणअनुसार प्रदेशका ६ जिल्लाका ४३ जना कोरोना संक्रमित थपिएका हुन् ।
थपिनेमा तनहुँका ९ जना र लमजुङका ५ जना रहेका छन् । त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा नवलपुरमा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँका संक्रमितमध्ये ५ जना शुक्लागण्डकी नगरपालिकास्थित बीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत चिकित्सकसहित अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका रहेका छन् ।
यस्तै स्याङ्जा, गोरखा र बागलुङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको निर्देशनालयले जनाएको छ ।
त्यस्तै प्रदेशमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपचाररत विनय त्रिवेणी गाँउपालिक, दुम्किबासका ३६ वर्षीय पुरुष रहेका छन । अस्पतालका अनुसार उनी लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए ।
योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

