८ प्रहरीसहित गोरखामा १८ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


पोखरा । गोरखका ८ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप १८ जनालाई संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ११ मा कार्यरत ८ जना प्रहरीलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु प्रहरी वडा प्रहरी कार्यालय १२ किलोमा कार्यरत रहेका छन् ।

त्यस्तै सोही वडाका ३ तथा १२ वर्षीय २ जना बालक, २२ र ५८ वर्षीय २ जना पुरुष तथा २५ र ४१ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको छ । ३ तथा १२ वर्षीय बालक वडा प्रहरी कार्यालयमा कार्यरत २ जना महिला प्रहरीका छोराहरु हुन् ।

त्यस्तै वडा नम्बर १० का ३० वर्षीय तथा १४ का ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु प्रहरी हिरासतमा रहेका कैदी हुन् । अर्का १ जना ३३ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार २ सय ३१ पुगेको छ ।



Tags: