
पोखरा, २० असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा १३ हजार ५ सय ९१ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय १८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २२ हजार ७ सय ९ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख ९९ हजार २ सय ७६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी मंगलवारसम्म क्वारेन्टाइनमा ४ हजार २ सय २१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ३ सय ४० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६७ हजार ५ सय ४२ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।