
पोखरा, २१ असोज । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च संक्रमितको संख्या हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा १४ हजार ७ सय ११ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २५ हजार ७ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ११ लाख १३ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ४ हजार १ सय ६४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय २६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६८ हजार ६ सय ६८ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।