
पोखरा, २२ असोज । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको आज बिहान मृत्यु भएको हो ।
१३ असोजमा कोरोना पुष्टि भएपछि उनी केन्द्रको आइसियुमा भर्ना भएका थिए । ती वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा फेरि ३७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहीबार दोस्रोपटक जारी विज्ञप्तिअनुसार गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार ४ सय ४७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो पटक थपिनेमा कास्कीका ५ जना, तनहुँका १ जना, बागलुङका १२ र नवलपरासी (ब.सु.पू.)मा १९ जना गरी ३७ जना रहेका छन् । उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।



