
पोखरा, २२ असोज । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च संक्रमितको संख्या हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीवारसम्म होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २६ हजार ६ सय ८४ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बिहीवारसम्म क्वारेन्टाइनमा ४ हजार ४ सय ६० जना रहेका छन् । पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७५ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ७१ हजार ३ सय ४३ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १२ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।