
फाइल तस्विर
पोखरा । बिहीबार साँझ पोखरामा १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार पोखराका थप १६ जना र तनहुँमा १ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ९८ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका १६ जना र तनहुँ शुक्लागण्डकीका १ जना गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज मात्रै गण्डकी प्रदेशमा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेमा नवलपुरका ४७, कास्कीका २४, बागलुङका १२, गोरखाका १०, तनहुँ ३ र लमजुङका १ जना रहेका छन् ।
प्रदेशमा ४ हजार ४ सय ९८ संक्रमितमध्ये ३ हजार २ सय ११ जना निको भएका छन् । बिहीबार साँझसम्म सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५० रहेको छ भने प्रदेशमा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ ।


