
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत तीन सल्लाहकारहरूमा देखिएको कोरोना संक्रमण निको भएको छ ।
रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण निको भएको हो ।
प्रेस सल्लाहकार थापाका अनुसार पछिल्लोपटक गरिएको तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको फेसबुकमार्फत जानकारी गराएको छ । उनीहरूका परिवारका सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको छ ।
थापाले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार म सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हाम्रो परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ नै आएको छ ।’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले पनि आफू कोरोना मुक्त भइसकेको बताएका छन् । त्यस्तै परराष्ट्र सल्लाहकार भट्टराईले पनि आफू कोरोनामुक्त भएको बताएका छन् । उनीहरू बिहीबार कोरोनामुक्त भएका हुन् ।
उनीहरूमा गत असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

