
पोखरा, २३ असोज । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ८ का ७८ वर्षे वृद्धको आज बिहान मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा फेरि ३९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दिउँसो दोस्रोपटक जारी विज्ञप्तिअनुसार गण्डकी प्रदेशमा ३९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ७२ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो पटक थपिनेमा कास्कीका ८ जना, तनहुँका ११ जना, बागलुङका १, स्याङ्जा ३, गोरखाका १५, र म्याग्दीका १ जना गरी ३९ जना रहेका छन् । उनीहरुको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।



