
पोखरा, २४ असोज । पोखराका १० जनासहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार जारी विज्ञप्तिअनुसार कास्कीका १० जनासहित गण्डकी प्रदेशका ५ जिल्लामा गरी ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बागलुङका ११, तनहुँका ७, गोरखाका ३ र कास्कीका १० जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ४८ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा आँधिखोला– ६ स्थायी ठेगाना भइ बुटवल बस्दै आएका ८१ वर्षीय पुरुष रहेका छन् । पोखरास्थित गण्डकी मेडिकलमा उपचाररत उनको हिजो २३ गते राति ११ः३० बजे मृत्यु भएको हो । हिजो नै उनलाई कोभिड– १९ संक्रमण पुष्टि भएको थियो भने उनमा मुटुरोग तथा मिर्गौलामा समस्या थियो ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेमा अर्का नवलपुरका ३६ वर्षीय पुरुष रहेका छन् । नवलपरासी (ब.सू.पू.) गैंडाकोट – १ का उनको पनि हिजो ३ः५५ बजे कलेज अफ मेडिकल साइन्स, चितवनमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।



