
फाइल तस्विर
पोखरा । पोखराका १० जनासहित गण्डकी प्रदेशमा १३ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार तेस्रोपटक जारी विज्ञप्तिअनुसार कास्कीका १० जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १०, गोरखाका १, स्याङ्जाका १ र पर्वतका १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये पर्बत कुश्मा–१० का ३० वर्षीय पुरुष नेपाल टेलिकम, काठमाडौँमा कार्यरत व्यक्ति हुन् भने पोखरा महानगरपालिका–७ का ३१ वर्षीय पुरुष सडक कार्यालय पोखरामा कार्यरत कर्मचारी हुन् । त्यस्तै पोखरा महानगरपालिका–१७ का ३५ वर्षीय महिला नेपाल बिद्युत प्राधिकरण, पोखरा शाखामा कार्यरत कर्मचारी हुने भने पोखरा महानगरपालिका–१ का ३७ वर्षीय पुरुष र वार्ड नं २६ का २६ वर्षीय पुरुष क्रमशः कपडा पसल र होम डेकोर संचालक हुन । बाँकी अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ९२ पुगेको छ ।


