
पोखरा, २४ असोज । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च संख्या हो ।
शनिवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३० हजार ८ सय १८ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ११ लाख ६४ हजार ५ सय ५७ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ४ हजार ६ सय ८६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार २ सय २९ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ७४ हजार २ सय ५२ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र १२ जना पुरुष रहेका छन् । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।

