
पोखरा । नेपालमा कोरोना भाइरसबाट एकलाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार २ सय १५ जना कोरोना निको भएसँगै १ लाख २ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् । प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन् ।
गत २४ घण्टामा देशभर ३ हजार ६ सय ३७ जना संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।
देशभर हालसम्म कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार उपत्यकामा मात्रै १ हजार ५ सय ५२ जना संक्रमित भएका छन् । जसमा काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ ललितपुरमा १ सय ५७ जना संक्रमित थपिएका छन् ।