जापानमा १३३१ जना कोरोना संक्रमण पुष्टि, पाँच जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित


सन थापा, जापान ।
नोभेम्बर ७ । जापानमा शनिबार १ हजार ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानभित्र संक्रमित १ लाख ७ हजार ५ सय ५७ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना गरी कोरोना संक्रमितको संख्या १ लाख ८ हजार २ सय ६९ जना पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ८ सय ३० जना पुगेको छ । आज खानागावा प्रान्तमा तीन, मियागी र साईतामा प्रान्तमा एक(एक गरी पाँचजनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ९७ हजार १ सय २० जना कोरोना संक्रमित निको भएका छन् ।

एनएचकेका अनुसार संक्रमितमध्ये ७ हजार ५ सय एक जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ९४ जनाको अवस्था गम्भीर रहेको छ ।

यी हुन बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या ३२ हजार ४ सय २९, ओसाकामा १३ हजार ६ सय ७६, खानागावामा ९१ हजार २ सय ६० , आईचीमा ६ हजार ७ सय ४३, साईतामामा ६ हजार १ सय ९८, फुकुओकामा ५ हजार २ सय ९५ जना पुगेको छ ।

त्यसैगरी चिबामा ५ हजार २ सय ७६, होक्काईदोमा ३ हजार ८ सय ६८, ओकिनावामा ३ हजार ४ सय ८८, ह्योगोमा ३ हजार ४ सय ८६ र क्योतोमा २ हजार १ सय ४५ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा २ सय ९४, ओसाकामा १ सय ९१, होक्काईदोमा १ सय ८७, खानागावामा १ सय ३७, आइचीना १ सय १३ जना थपिए भने अन्य ११ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।