नेकपा सचिवालय बैठक बालुवाटारमा

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ।

शुक्ररबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सचिवालयका सबै सदस्य उपस्थित रहेका छन्।

पार्टीको आन्तरिक विवाद, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीको विषयमा असन्तुष्ट नेताहरुले पटकपटक बैठक राख्न आग्रह गर्दा पनि सहमति जुट्न सकेको थिएन।

कात्तिक २२ गते नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित सचिवालयका शीर्ष पाँच नेताले सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई लिखित पत्र नै बुझाएका थिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको हप्ता दिनपछि सचिवालय बैठक बसेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको समयभन्दा केही ढिला बैठक सुरु भएको हो। ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री ओलीले आउन आधा घण्टा ढिला गरेपछि साढे ४ बजेबाट सुरु भएको सूर्य थापाले जानकारी गराए ।