बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा

-


     मर्दी न्युज    
     पुस ८ गते २०७७ मा प्रकाशित


Health worker gesturing stop sign in quarantine.

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गर्नुभएको छ । उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन उहाँले अनुरोध गर्नुभएको छ ।

उहाँले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताउनुभयो । मन्त्रालयका प्रवक्ता डा गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत अनुरोध गर्नुभएको छ ।

मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ ।