
सन थापा,
जापान, डिसेम्बर २९ । जापानमा विश्वबिद्यालय ग्राजुएट (सोचुग्योउ)पश्चात् रोजगार भिसा (स्युउस्योकु) पाउन कठिन बन्दै गएको छ । कोभिड–१९ को महामारीको कारण आर्थिक कारोबार धराशायी बनेपछि रोजगारदाता कम्पनीहरूले कामदारको माग अत्यन्त न्यून रूपमा मात्र गरेका छन् । जसका कारण विद्यार्थीहरूको भविष्य अन्यौल बन्दै गएको छ ।
सन् २०१३ अक्टोवरमा सुनौलो भविष्य बोकेर बिद्यार्थी भिसामा जापान प्रवेश गरेकी पोखराकी निशा गुरुङको एउटै सपना थियो, पढाई पूरा भएपछि राम्रो कम्पनीमा रोजगार भिसा (स्युउस्योकु) प्राप्त गर्ने । फुकुओकास्थित जापान यूनिभर्सिटी अफ इकोनोमिक्समा अन्तिम सेमेस्टरमा अध्ययनरत उनी रोजगार कम्पनीको खोजी भौतारी रहेकी छन् । ठूलो सपना बोकेर जापान आएँ, वर्किङ (स्युउस्योकु) गर्ने बेला कोरोनाले गर्दा रोजगारदाता कम्पनी पाउनै सकेको छैन । उनी भन्छन्, अन्तिम लक्ष्य नै वर्किङ हो तर कोरोना कहरले भविष्य नै अन्यौल भयो ।

डेढवर्ष जापानीज भाषा स्कूल, दुई वर्ष एनिमेसन सम्बन्धि व्यबसायिक कलेज र चार वर्ष विश्वबिद्यालय गरी आठ वर्ष व्यतित गरेकी उनी भविष्य अझै सुनिश्चित नहुँदा चिन्तित छन् ।
सामान्य अवस्था भएको भए यतिबेला विभिन्न रोजगारदाता कम्पनीहरूको सेमिनार कक्षा (सेचुमेईखाइ) मा सहभागी हुन भ्याई नभ्याई हुन्थ्यो र कम्पनीको नाईतेइ (रोजगार अफर) लिएर ढुक्क सँग बस्न पाइन्थ्यो ।
यस्तै पीडा छ नागोयास्थित टोकियो फुकुसी विश्वबिद्यालयमा चौथो सेमेस्टरमा अध्ययनरत प्रियंका सैंजुको पनि । कोरोनाका कारण रोजगारदाता कम्पनीले नयाँ कामदारको आवेदनको लागि लिईने सेमिनार कक्षा (सेचुमेईखाइ) एकदम न्यून रुपमा हुँदा रोजगारको अवसर पाउन कठिन भएको बताउछिन् । सन् २०१५ मा जापान प्रवेश गरेकी उनी २०२१ को मार्चमा ग्राजुयट भएपछि के गर्ने भन्ने बारे अन्यौलता व्यक्त गरिन् । मुख्य कुरा रोजगार भिसा प्राप्त गर्ने नै हो, कोरोनाले गर्दा कम्पनी पाउन गाह्रो छ, कही कतै पाए पनि न्यून पारिश्रमिक अनि ग्रामीण क्षेत्रका कम्पनीको मात्र अफर आएको छ उनी भन्छिन् ।

दलालको बिगबिगी
राम्रो कम्पनीमा वर्किंग भिसा लगाई दिने प्रलोभन देखाउदै केही व्यक्ति तथा एजेन्सीहरूले अग्रिम रकम लिएर सम्पर्कविहीन हुने प्रवृत्ति पनि मौलाएको छ । उनीहरूले भिसा एप्लाई गराईदिने वकिल खर्च भन्दै शुरूमा तीन मान (तीस हजार) देखि २० मान (दुई लाख) सम्म लिने र भिसा प्राप्त भएपछि कूल ५० देखि ६० मान (पाँचदेखि छलाख) सम्म असुल्ने गरेका छन् । गतवर्ष एक दलाल (एजेन्ट) मार्फत् वर्किङ भिसा एप्लाई गर्ने भन्दै बुटवलका बिजय (परिवर्तित नाम) ले १० मान (१ लाख० बुझाए, २÷३ महिनासम्म काम हुदैछ भन्दै आश्वासन दिएको दलाल त्यसपछि सम्पर्कविहीन भएपछि उनी बिचल्लीमा परे ।
त्यस्तै काठमाडौका विनीता (परिवर्तित नाम) र उनको साथीले वर्किङ भिसाको लागि एक एजेन्टलाई जनही दुई÷दुई लाख बुझाए । एक वर्षसम्म पनि भिसा पाउन नसकेपछि वकिल चार्ज भन्दै ६०–६० हजार कटाएर बाँकी रकम बल्ल–बल्ल फिर्ता पाए ।

कडा बन्दै अध्यागमन विभाग
गत महिना फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरो नाहा शाखाले ओकिनावास्थित जेएसएल जापानिज भाषा स्कूलका ७८ जना नेपाली बिधार्थीहरूको आवासीय भिसा रद्द गर्यो । हप्तामा निर्धारित २८ घण्टा भन्दा बढी काम गरेको पाईएपछि उनीहरूको भिसा रद्द गरेको जनाईएको छ । सन् २०१९ को जूलाईमा उक्त भाषा स्कूलमा भर्ना भएका १ सय ४२ जना मध्ये ७८ जनाको भिसा रद्द भएको हो । तीन महिनाभित्र जापान छाड्नु पर्ने भएपछि उनीहरूलाई नेपाल फर्कन सम्पूर्ण खर्च सहित स्कूलले सहजीकरण गर्ने जनाएको छ । एकैचोटी ठूलो संख्यामा भिसा रद्द भएको सम्भवतः यो पहिलो पटक हो । यसअघि पनि छिटफुट रूपमा यस्ता घटना भएका थिए ।

