आज तमु ल्होसार, कोरोना महामारीका कारण घरघरमै मनाइने

-


     मर्दी न्युज    
     पुस १५ गते २०७७ मा प्रकाशित


Mardi News

पोखरा, १५ पुस । आज तमु ल्होसार । आज गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी नयाँ वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । यसवर्ष च्यु ल्हो (मुसा वर्ग)लाई विदाई गरी ल्वोँ ल्हो (गाई वर्ग)लाई स्वागत गरी गएराती १२ बजेबाट तमु समुदायको नयाँ वर्गचक्र फेरिएको छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस १५ व्यापक मनाउने गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

ल्होसारमा विगत वर्षमा काठमाडौंको टुँडिखेल, पोखराको तमु प्ये ल्हु संघ, तमु धीं नेपालमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने संघसंस्थाले जनाएको छ ।