
पोखरा, १५ पुस । फेवातालको संरक्षणको काम यो वर्ष सम्पन्न हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल, रेवान पोखराले आयोजना गरेको २२ औं पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले तालको जग्गा सिमाङ्कन र नक्शाङ्कनको काम सम्पन्न गरी तालको जग्गा अधिग्रहण तथा त्यस क्षेत्रमा निर्मित भौतिक संरचनाको मुअब्जा तथा क्षतिपूर्ति वितरण गरी यसको काम सम्पन्न हुने बताए ।
नेपाल ट्रष्ट अन्तर्गत रहेको रत्न मन्दिर तथा हिमा गृह पनि छिट्टै खुल्ने उनले जानकारी दिए । ‘हिमा गृहलाई खोल्न प्रदेश सरकारबाट बारम्बार पहल गरिरहेको छ ।’ उनले भने, ‘प्राविधिक टीम आईसकेको हुनाले यही आर्थिक वर्षभित्र खुल्ने छ ।’
त्यस्तै कोरोना महामारीकाबीच समस्यामा परेका व्यवसायीहरुको लागि एक अर्बको व्यवसाय जीवन रक्षा कोष ल्याएको उनले बताए ।

त्यस्तै कोरोना महाकारीका कारण पर्यटन व्यवसायीहरुले दैनिक १३ करोड नोक्सान व्यहोर्नु परेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । प्रदेशको पर्यटन विकासको लागि ८५ वटै स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढिरहेको उनले जनाए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आन्तरिक पर्यटकलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।
विगतमा ५ दिनसम्म हुने महोत्सव यसपालि कोरोना प्रभावका कारण ३ दिनसम्म मात्र हुनेछ ।





