मार्फामा आरोहीहरुको स्वागत तथा अन्तरक्रिया सम्पन्न

-


     मर्दी न्युज    
     माघ ७ गते २०७७ मा प्रकाशित


मार्फा । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले हालै आयोजना गरेको धम्पुस पिक/थापा पिक (६०१२ मी.) आरोहीहरुलाई मुस्ताङ जिल्लाको पर्यटकीय गाउँ मार्फामा भव्य स्वागत गरिएको छ ।

मार्फाको सामुदायिक भवन तथा सभागृहमा भएको कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले आरोहीहरुलाई बधाई दिंदै मुस्ताङ जिल्ला धार्मिक पर्यटन तथा पदयात्रा पर्यटनको साथसाथै साहसिक पर्वतारोहण पर्यटनको पनि प्रचुर सम्भावना रहेको बताए । उनले नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले आरोहणको लागि मुस्ताङ जिल्लाकै हिमाल चयन गरेकोमा खुशी व्यक्त गर्दै आभार प्रकट गरे ।

कार्यक्रममा सम्पूर्ण आरोहीहरु तथा सहभागीहरुलाई स्थानीय मुखियाद्वारा खादा लगाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेल, धरपजोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, लोगेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष राजु विष्ट, मार्फाका वडाध्यक्ष मानबहादुर नेपालीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय पर्यटन तथा होटल व्यवसायीहरु, जिल्लामा कार्यरत पत्रकार एवम् आम जनताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, नेपाल पर्वतारोहण संघ केन्द्रीय कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लामा राइजेन ट्रेक्स एण्ड एक्स्पेडिसन प्रालि पोखराको आर्थिक तथा प्रावधिक सहयोगमा धम्पुस पिक/थापा पिक (६०१२ मी.) को प्रबद्र्धनात्मक आरोहण गत शनिवार सम्पन्न भएको थियो ।

दुई माउण्टेन गाइड तथा प्रशिक्षक आशिष गुरुङ र अनुप गुरुङसहित सुदिप गौतम (कास्की), दिपेशबाबु सुवेदी (कास्की), टासी पासाङ गुरुङ (मुस्ताङ), हिराकुमारी मल्ल (स्याङजा), मनु गुरुङ (मनाङ) र सनकुमार जुग्जाली (म्याग्दी) ले शनिवार बिहान ११ः४८ बजे हिमालको सफल आरोहण गरेका थिए ।