
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिएका छन् ।
शुक्रबार केपी शर्मा ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उनले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताएका हुन् ।
‘मांसाहारी आन्दोलन गर्नेलाई हाम्रो संविधान र कानुनले त्यसलाई अपराध घोषित गरेको छ। त्यो अपराध गर्नेलाई, मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिन्छ’, गृहमन्त्री थापाले भने।
केही दिनअघि अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा नेकपा ‘दाहाल–नेपाल’ समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले नपुग्ने भन्दै युवाहरुलाई आक्रामक आन्दोलन गर्न निर्देशन दिएका थिए।
त्यसको जवाफ दिँदै गृहमन्त्री समेत रहेका ओलीपक्षीय नेता बादलले मांसाहारी आन्दोलन गर्छु भन्नेहरुलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका हुन्।

