
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पार्टीलाई गुटबन्दी गर्दै विभाजनतर्फ लगेको आरोप लगाएका छन् । उनले पार्टीमा गुटबन्दी ओलीले नै शुरू गरेको दाबी गरे ।
बुधबार झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको बताए ।
‘ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशब्यापी गुटबन्दी शुरू गरेका हुन् । उनको गतिविधिले पार्टीमा विधि, पद्दति, अनुशासन तोडियो र अराजकता पैदा भयो ।’ खनालले भने, ‘केपी ओलीले जुन ढंगले त्यो काम गर्नुभएको छ, पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ ।’
सर्वोच्च अदालतले एमालेको ब्यूँताएपछि पनि ओलीले बालुवाटारमा गुट भेला गरेर एकतर्फी निर्णयहरू गरेको खनालले गुनासो गरे ।

