टोकियो सहित तीन प्रान्तको आपतकाल हटाउने निर्णय, बिहीबार १४९९ जना संक्रमित, ३२ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, ५ चैत । जापान सरकारले टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तमा आईतबारदेखि आपतकाल हटाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण ८० प्रतिशत भन्दा कमी आएको र आपतकालीन अवस्थाको अन्त्यका लागि मापदण्ड पूरा भएकोले आपतकाल हटाउने निर्णय गरेको बताए । आम नागरिकलाई कोरोना संक्रमण र गम्भीर बिरामी हुनबाट रोक्न खोप अभियान लाई जारी राखी चिकित्सा प्रणालीलाई सुदृढिकरण गरिने सुगाले बताए । यी प्रान्तमा जनवरी ८ बाट आपतकाल लागु गरिएको थियो ।
बिहीबार १ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिनुका साथै ३२ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ५३ हजार ४ सय ८३ जना पुगेको छ । मंगलबार ५० हजार ५ सय १० जनाको पिसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ८ हजार ७ सय ७० जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ३० हजार ५ सय ५७ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १२ हजार २ सय १७ जनाको उपचार भइरहेको छ भने ३ सय २५ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख १६ हजार ६ सय १६, ओसाकामा ४८ हजार ७ सय ४७, खानागावामा ४६ हजार ७ सय ९०, साईतामामा ३१ हजार ३ सय १५, चिबामा २८ हजार ३ सय नौ, आईचीमा २६ हजार ६ सय १०, होक्काईदोमा २० हजार १ सय ८२, ह्योगोमा १८ हजार ७ सय ३५,फुकुओकामा १८ हजार ६ सय ३८ र क्योतोमा ९ हजार २ सय ३६ जना संक्रमित भएका छन् । त्यस्तै ओकिनावामा ८ हजार ६ सय १८, इबाराकीमा ६ हजार ३ सय छ, सिजुओकामा ५ हजार ४ सय ५०, हिरोसीमामा ५ हजार ७१ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ६ सय २४, ओसाकामा १ हजार १ सय ६१, खानागावामा ७ सय ६२, साईतामामा ६ सय ७७, चिबामा ५ सय ३२, आईचीमा ५ सय ६५, होक्काइदोमा ७ सय १९, फुकुओकामा ३ सय २२, ह्योगोमा ५ सय ७२ र क्योतोमा १ सय ६५ जनाको मृत्यु भएको छ ।

४७ प्रान्त मध्ये बिहीबार सात प्रान्तमा संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ३ सय २३, ओसाकामा १ सय ४१, साईतामामा १ सय ६०, चिबामा १ सय २२, खानागावामा १ सय १४, मियागीमा ९८ र होक्काइदोमा ९६ जना संक्रमित थपिए । त्यस्तै ह्योगोमा ७६, आईचीमा ३८ फुकुओकामा ४५, ओकिनावामा ४५, इबाराकीमा ४७,गुन्मामा २५, क्योतोमा ११ जना संक्रमित थपिए ।