
सन थापा,
जापान, १२ चैत । टोकियो ओलम्पिकको रिलेटर्च जापानको उत्तरपूर्वी प्रान्त फुकुसीमाबाट आज सुरु भएको छ । उक्त रिले ४७ ओटै प्रान्तका विभिन्न शहरको यात्रा गरी १ सय २१ दिनपछि जुलाई २३ मा टोकियो रंगशालामा समापन हुनेछ । रिलेटर्च बोक्ने पहिलो सहभागी सन् २०११ को महिला फुटबल विश्वकप विजेता टोली ‘नादेशिको जापान’ का १६ जना सदस्यहरू थिए । रिलेमा १० हजार धावक सहभागी हुनेछन्, रिलेटर्च गत मार्चमा ग्रीसबाट जापान ल्याईएको थियो ।
कार्यक्रममा बोल्दै टोकियो ओलम्पिक २०२० का अध्यक्ष सेइको हाशिमोतोले टोकियो ओलम्पिक ज्वालाले जापान वरिपरिको एक पवित्र, शक्तिशाली र न्यानो चमकलाई उज्यालो पार्ने आशा व्यक्त गरिन् ।
फुकुसीमाका गभर्नर मासाओ उचिबोरीले सन् २०११ को भूकम्प, सुनामी र आणविक दुर्घटनाले ठूलो धनजनको क्षति भएको ठाउँबाट पुनःनिर्माणको आशा जगाउदै रिलेटर्च सुरुवात हुनु नै बहुमूल्य भएको बताए । कोरोना भाईरस महामारीका टोकियो ओलम्पिक १ वर्ष पछि सरेको छ ।

