
सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागि १६ खर्व ४७ अर्व ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । गतवर्ष भन्दा बजेटको आकार बढेको हो ।
चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए ।
बजेटमा कोभिड नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको छ भने सामाजिक सुरक्षा भत्ता बढाउँदै बृद्धभत्ता मासिक ४ हजार पुर्याइएको छ । एमालेले आफ्नो चुनावी घोषणापत्रमै पाँच बर्षभित्र मासिक पाँच हजार बृद्धभत्ता पुर्याउने उल्लेख भएअनुसार सरकारले यस बर्ष बृद्धभत्ता बढाएर मासिक ४ हजार पुर्याएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि गर्नुभएको बजेट भाषणमा यसपटक स्वास्थ्य क्षेत्रमा ३३ अर्व बढेको छ । मन्त्री पौडेलले पेस गर्नुभएको आयव्यय विवरणमा स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजित भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उहाँले गर्नुभएको बजेट भाषणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको छ । यस वर्षको बजेट भाषणमा स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ ।
कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि
सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।
यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।

