अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयमा बृक्षरोपण र पंछी अबलोकन गरेर मनाइयो बिश्व बाताबरण दिवस

-


     मर्दी न्युज    
     जेठ २२ गते २०७८ मा प्रकाशित


सांकेतिक फोटो

नेपाल पर्वतारोहण संघ मातहत पोखरा महानगरपालिका वडा नं १७, रातोपैह्रोमा अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बिश्व बाताबरण दिवस (आज जून महिनाको ५ तारीख) को उपलक्ष्यमा बृक्षरोपण, विरुवाको गोडमेल र पंछी अबलोकन गरेर मनाइएको छ ।

बिश्वब्यपी महामारी कोभिडको दोस्रो लहरले सिर्जित विषम परिस्थिति र सरकारले घोषणा गरेको लक डाउनको कारण बृहत कार्यक्रम गर्न नसके तापनि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति का सदस्यहरु, सल्लाहकार, संग्रहालय नजिकै बसोबास गर्ने कर्मचारीहरु तथा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सिमित प्रतिनिधिहरु ले स्वास्थ्य संम्बन्धी मापदण्डहरुको पूर्ण रुपमा पालना गरि संक्षिप्त कार्यक्रम गरेका थिए ।

संग्रहालय समितिका ज्येष्ठ सदस्य हरि प्रसाद लामिछानेले चिउरीको बिरुवा रोपेर आज बिहान ८ः३० बजे कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । संग्रहालयकै नर्सरीमा उपलब्ध चिउरी, राजबृक्ष, तेजपात, कपुर, टिमुर, पाउलोनिया जस्ता सुन्दर तथा जडिबुटीको रूपमा प्रयोगमा आउने बिरुवाहरु रोपिएको संग्रहालय समिति सदस्य तथा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका पूर्व अध्यक्ष जिवनराज सापकोटाले बताउनुभयो ।

बाताबरण संरक्षण गर्नु मानव जगतको लागि अत्यन्तै महत्त्वपूर्ण भएको सन्देश प्रवाह गर्नको लागि गरिएको बृक्षरोपण कार्यक्रम सँगै पहिला रोपिएका विरुवाहरुको गोडमेल समेत गरिएको थियो । त्यस पश्चात संग्रहालय परिसरमा गरिएको पंछी अवलोकन कार्यक्रममा ३५ प्रजातिका चराहरु देखिएको युवा फोटो पत्रकार तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो ।

पोखरा तथा नेपालकै महत्त्वपूर्ण पर्यटकीय आकर्षणको केन्द्र यस संग्रहालयमा रोपिएका बिरुवाहरुको अभिलेख राखिने र उचित रेखदेख गरिने संग्रहालयका प्रशासन सहायक उज्ज्वल अधिकारीले मर्दी न्युजलाई बताए ।