
पोखरा । सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र सुरु भएको हो ।
शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने मन्त्रालयले जनाएको छ। कोरोना महामारी नै कायम रहेकोले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ।
विद्यालयले आजदेखि असार १५ सम्म विद्यार्थीको भर्ना कार्यक्रम पूरा गरेर विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने छ । विद्यार्थीको भर्ना कार्यक्रम पछि(१५ गतेपछि) वैकल्पिक माध्यमबाट पठनपाठनको व्यवस्थापन मिलाइने मन्त्रालयले बताएको छ।
सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा एसईई विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै गर्ने भएको छ।
साउन १५ भित्र एसईईको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिएको छ जसका लागि विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर असार २० भित्र पठाइसक्नुपर्नेछ।
साधारणतया वैशाख पहिलो हप्तादेखि नयाँ शैक्षिक सत्र सुरू हुने भएपनि कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो।

