ठूलो पानीगौथली : ३८ वर्ष पछि काठमाण्डौ उपत्यकामा

-


     मर्दी न्युज    
     असार ८ गते २०७८ मा प्रकाशित


फोटो: संजय था श्रेष्ठ

काठमाण्डौं । प्राय सिमसार नजिकैका सुख्खा जमिनहरु मा गृष्मकालमा भेटिने विरल वटुवा चरा ठूलो पानीगौथली यहाँको मनोहरा खोलामा ३८ वर्ष पछि अभिलेख गरिएको छ ।

कुटनीतिज्ञ तथा पंछी बिशेषज्ञ ब्रायन हड्सनले १९ औं शताब्दीमा नेपालको लागि पहिलो पटक अभिलेख गरेको यो प्रजाति सन् १९७६ मा फ्लेमिङ तथा सन् १९८३ मा पंछीबिद हरिशरण नेपाली “काजी” ले अभिलेख गरे यता उपत्यकामा भेटिएको थिएन ।

समुन्द्री सतहको ७५ देखि १३१० मिटर उचाई सम्म भेटिने ठूलो पानीगौथली पंछीअबलोकनका क्रममा पर्यटनकर्मी तथा वन्यजन्तु फोटोग्राफरद्धय संजय था श्रेष्ठ र शेर्पा फ्रेन्च पेम्बाले एक अल्पवयस्कको फोटो सहित हिजो बिहान अभिलेख गरेका थिए ।

बयस्क ठूलो पानीगौथली, फाईल फोटोः सोम जिसि

सन् १९८८ मा पंछीबिद राजेन्द्र सुवालले बर्दिया जिल्लाको बढैया तालमा हाल सम्मकै धेरै २५ वटाको संख्यामा देखे यता कहिले जोडी मा त कहिले सानो संख्यामा नेपालका बिभिन्न भागमा यस प्रजातिको अभिलेख गरिएको छ ।

पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज देखि पूर्वमा कोशीटप्पु वन्यजन्तु आरक्ष सम्म भेटिएको यो पानीगौथली चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, जगदिशपुर जलाशय, फेवा ताल तथा संखुवासभाको तुम्लिङटारमा भेटिएको नेपालका संकटापन्न चराहरु सम्बन्धि रातोकिताबमा उल्लेख गरिएको छ ।

फोटोः शेर्पा फ्रेन्च पेम्बा

बिशेष गरेर पानी चरा हरुको बच्चा तथा अल्पबयस्कहरु को पहिचान गर्न केहि कठिन हुने हुँदा यो अल्पबयस्कको समेत पहिचानमा केहि समय लागेको भए पनि बरिष्ठ पंछीबिद क्यारोल ईन्स्किप, टिम ईन्स्किप, डा. हेमसागर बराल तथा हठन चौधरीले प्रजातिको पुष्ठि गर्नुभएको थियो ।

स्मरणिय छ, मिनी कोशीको उपनामले चिनिने यस क्षेत्रमा गत वर्ष २८ भन्दा बढि फिरन्ते तथा विरल वटुवा प्रजातिका पंछीहरुको अभिलेख गरिएको थियो ।