जापानको जनसंख्या १२ करोड ६२ लाख, पाँच वर्षमा ०.७ प्रतिशत घट्यो

-


     मर्दी न्युज    
     असार १२ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, १२ असार । जनगणना २०२० अनुसार जापानको जनसंख्या १२ करोड ६२ लाख २६ हजार ५ सय ६८ जना रहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै पाँच वर्षको अवधिमा ०.७ प्रतिशत जनसंख्या घटेको जनाएको छ ।


जापानले गतवर्ष गरेको राष्ट्रिय जनगणनामा
२०२० अक्टोवर १ सम्म जापानमा बसोबास गर्ने जनसंख्या समावेश गरिएको छ । तथ्यांक अनुसार महिलाको जनसंख्या ६ करोड ४८ लाख रहेको छ भने पुरूषको जनसंख्या ६ करोड १३ लाख रहेको छ । हरेक पाँच-पाँच वर्षमा जनगणना गर्ने जापानमा सन् २०१५ को तुलनामा ८ लाख ६८ हजार जनसंख्या घटेको छ । सबैभन्दा बढी टोकियोमा ४.१ प्रतिशत जनसंख्या बढेको छ भने आकिता प्रान्तमा ६.२ प्रतिशतले घटेको छ ।
४७ प्रान्तमध्ये जनसंख्या बढेको प्रान्तहरूमा टोकियो, खानागावा, चिबा, साईतामा, ओसाका, आईची, ओकिनावा हुन् भने अन्य ३८ प्रान्तमा घटेका छन् । जनसंख्या सम्बन्धी विस्तृत तथ्यांक नोभेम्वरमा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापान जनसंख्याको हिसाबले टपटेनबाट बाहिरिदै ११ औं स्थानमा झरेको छ ।
जापानले अधिकारिक रूपमा सन् १९२० देखि जनगणना सुरू गरेको थियो, जुन २०२० सँगै १ सय वर्ष पूरा भएको छ । त्यसबेला जापानको जनसंख्या ५ करोड ५९ हजार ३ हजार ५३ जना रहेको थियो भने वृद्धिदर १.९ प्रतिशत रहेको थियो ।