जापानमा पहिलोपटक कोरोना संक्रमण ९ हजार नाघ्यो, टोकियोमा मात्रै ३ हजार संक्रमित

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, साउन १३ । जापानमा पहिलोपटक ९ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारी सुरु भएदेखि हालसम्मकै सबैभन्दा उच्च संक्रमण संख्या हो । राजधानी टोकियोमा पनि हालसम्मकै धेरै ३ हजार १ सय ७७ जना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा संक्रमितको कुल संख्या ८ लाख ९३ हजार ३ सय ४० पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । यो संख्या प्रिन्सेस क्रूजका १३ जना सहित १५ हजार १ सय ७४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ८ लाख २४ हजार ५ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमितमध्ये ५ सय २२ जनाको अवस्था गम्भीर रहेको छ भने ४२ हजार २ सय ४७ जनाको उपचार भइरहेको छ ।
सोमबार ५८ हजार ३ सय ८० जनाको पिसीआर परीक्षण गरिएको थियो ।

आज १४ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै टोकियोपछि खानागावामा १ हजार ५१, साईतामामा ८ सय ७०, ओसाकामा ७ सय ९८, चिबामा ५ सय ७७, फुकुओकामा ४ सय पाँच, ओकिनावामा ३ सय ४७, आईचीमा २ सय ६५, ह्योगोमा २ सय ५४, होक्काईदोमा २ सय २७ , इबाराकीमा १ सय ९४, क्योतोमा १ सय ७५, सिजुओकामा १ सय २०, इशिखावामा १ सय १९ र तोचिगीमा १ सय दुई जना संक्रमित थपिए ।