काबुल कब्जासँगै तालिबानद्वारा विजय भएको दाबी

-


     मर्दी न्युज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित


काठमाडौं । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै युद्ध जितेको दाबी गरेको छ । 

लामो समयको सङ्घर्षपछि सत्ता कब्जा गर्न तालिबान समूह सफल भएको तालिबानका प्रवक्ता मोहम्मद नइमले समाचार च्यानल अल जजिरालाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन ।

२० वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता भएसँगै तालिबान समूहले अफगानिस्तानको सत्ता प्राप्त गरेको छ । अफगानिस्तानका मुख्य सहरहरू कब्जा गर्दै बाँकी रहेको राजधानी काबुल आइतबार आफ्नो कब्जामा लिन सफल भएको तालिबानको दाबी छ ।

प्रवक्ता नइमले शरिया कानुनानुसार तालिबानले महिला र अल्पसंख्यकका अधिकार र अभिव्यक्ति स्वतन्त्रताको  सम्मान गर्ने बताएका छन् । उनले तालिबानले कसैको मामिलामा हस्तक्षेत्र नगर्ने नीति अपनाउने भन्दै अफगानिस्तानको मामिलामा पनि अरूलाई हस्तक्षेप नगर्न आग्रह गरे । अफगानिस्तानमा पुनः विदेशी सेना प्रवेश नगरोस् भन्ने उनको भनाइ थियो ।

तालिबानले अन्तर्राष्ट्रिय समुदायसित शान्तिपूर्ण सम्बन्ध बनाउन चाहेको भन्दै उनले कुनै पनि विषयमा छलफलका लागि तयार रहेको बताएको समाचारमा जनाइएको छ ।

तालिबान समूहले राजधानी काबुल लगायत राष्ट्रपति भवनभित्र पुगेका भिडियो पनि सार्वजनिक गरेको छ । योसँगै तालिबान समूहले अफगानिस्तानको युद्ध समाप्त भएको पनि बताएको छ । तालिबान प्रवक्ताले अलजजिरासँग भनेका छन्,’युद्ध सकिएको छ, हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’

तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनीलगायत उच्च अधिकारीहरुले आइतबार देश छोडका छन् । राष्ट्रपति गनी अफगानिस्तान छोडेर उज्वेकिस्तान गएका छन् ।