यूकेको ‘रेड लिस्ट’बाट हट्यो नेपाल

-


     मर्दी न्युज    
     असाेज २२ गते २०७८ मा प्रकाशित


लन्डन । यूकेले कोरोना भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ ।

ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ 

यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए । ‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्ने हुँदा नेपालसहितका यात्रुलाई निकै सास्ती भइरहेको थियो । नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीसमेत चर्को मूल्य तिर्न बाध्य थिए ।

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएका बीबीसीले उल्लेख गरेको छ । ब्रिटिश सरकारले बिहीवार एउटा सूचना जारी गर्दै अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ।

लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता श्रीमती रोशन खनालले ब्रिटिश सरकारको पछिल्लो निर्णय स्वागतयोग्य भएको बताएकी छन्। 

“हामीले नेपाललाई रातो सूचीबाट हटाउन ब्रिटिश सरकारसंग पहल गरेका थियौँ। अब नेपालबाट ब्रिटेन यात्रा गर्ने यात्रुहरूलाई सहज हुने हामीले अपेक्षा गरेका छौँ,” उनले भनिन्।

यसै वर्षको शुरूमा ब्रिटेनले संसारभरिका मुलुकलाई ‘रातो’, ‘पहेँलो’ र ‘हरियो’ गरी तीन भिन्दाभिन्दै सूचीमा वर्गीकरण गरेको थियो।