फेसबुकको नाम परिवर्तन : कम्पनीको नाम अब मेटा

-


     मर्दी न्युज    
     कार्तिक १२ गते २०७८ मा प्रकाशित


एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन् ।

फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ ।

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन् ।

यो कुरा कम्पनीको नाम परिवर्तन गर्नेमा मात्र सीमित नभई भविष्यमा ‘मेटाभर्स’ मा जानका लागि गरिएको जुकरबर्गको भनाइ छ ।

मेटाभर्स शब्द उपन्यासकार निल स्टेफेन्सनले बनाएका हुन् । सन् १९८२ प्रकाशित उनको उपन्यास ‘स्नो क्र्यास’मा पहिलो पटक यो शब्द प्रयोग गरिएको थियो। यो मेटा र युनिभर्स जोडेर बनाइएको शब्द हो ।

द गार्डियनका अनसार मेटाभर्स एउटा यस्तो दुनियाँ हो जहाँ भौतिक र डिजिटल संसार एक हुन्छन् । मानिसहरू इन्टरनेटका माध्यमबाट काम गर्न सक्छन्, मिटिङ गर्न सक्छन्, कन्सर्टमा जान सक्छन् र किन्न लागेको नयाँ लुगा पनि आफूलाई फिट भए/नभएको हेर्न सक्छन् ।