प्रकृतिमैत्री पूर्वाधार

-


     प्रा.डा. तारानिधि भट्टराई    
     कार्तिक १३ गते २०७८ मा प्रकाशित


यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति पुग्यो ।

मनसुन सकिनै लाग्दा (भाद्र २० गते राति) काठमाडौँ उपत्यकामा परेको ‘आरिघोप्टे वर्षा’ ले उपत्यकाका सबै नदीमा डरलाग्दो बाढी गयो । करिडोर सडकबाट नदी बग्यो । नदीकिनारका घरका भुइँ तलामा बाढी पस्यो । त्यस्तै, मनसुन सकिएपछि कात्तिक पहिलो हप्तामा आएको बेमौसमी वर्षाका कारण देशभरमा आठ अर्ब २६ करोड ८० लाख रुपियाँ बढीको धानबालीमा क्षति पु-यायो (गोरखापत्र, कात्तिक ८ गते) । यो वर्षाको कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानले सयभन्दा बढीको ज्यान गयो । कैयौँ अझै बेपत्ता छन् । 
वास्तवमा यो वर्षा ‘बेमौसमी’ नै हो वा लामो समयको (दशौँ वा सयौँ वर्षको) अन्तरालमा दोहोरिने नियमित प्रक्रिया हो भन्ने विषयमा विज्ञहरूको राय सार्वजनिक भइसकेको छैन । बाढी पहिरोका घटनाहरू यो साल मात्र भएको होइन, वर्षैपिच्छे दोहोरिएका छन् । त्यो पनि बढ्दो क्रममा छ । आखिर किन हामीहरू बाढी पहिरो नियन्त्रणमा सफलता हासिल गर्न सकिरहेका छैनौँ त ?

पानी पर्नु प्राकृतिक प्रक्रिया हो । हाम्रोमा बङ्गालको खाडीबाट आउने मनसुनी बादलले वर्षा ऋतुमा पानी पार्छ । हिउँदमा पनि पश्चिमी वायुले केही पानी त पार्छ तर वर्षाको तुलनामा यो निकै न्यून हुन्छ । वर्षभरिमा पर्ने पानीको मात्रा प्रत्येक वर्ष लगभग उति नै रहेको छ तर पानी पर्ने समय र प्रकृतिमा केही फरक पर्न लागेको देखिन्छ । यो तथ्यलाई जलवायु परिवर्तनसँग गाँसिएको कुरा विज्ञहरूले बताउँदै आएका छन् । कतिपय प्रसङ्गमा त बाढी पहिरोका घटनाहरू बर्सेनि बढ्नुमा जलवायु परिवर्तनकै असर हो पनि भनिन्छ । तर, एकादुई स्थानीय प्रसङ्गलाई छोडेर हेर्ने हो भने, यो कुरालाई पुष्टि गर्न जति वैज्ञानिक तथ्याङ्कहरू चाहिने हो त्यत्तिकै सङ्ख्यामा तथ्याङ्कहरू सार्वजनिक गरिएको देखिँदैन ।

जमिनको सतहमा झरेपछि वर्षाको पानी गरुत्वाकर्षणको कारणले ओरालो धरातलतिर बग्न थाल्छ । बग्ने क्रममा यसले जमिनको सतहमा रहेको खुकुलो माटो वा चट्टानका मसिना टुक्राहरूलाई पनि सँगै बगाएर लान्छ । कतिपय ठाउँमा माटो बगेर गएपछि त्यहाँ सानासाना लाम्चा डोबहरूको विकास हुन्छ । कालान्तरमा यिनै डोबहरू एक आपसमा मिसिँदा र तिनीहरूको लम्बाइ, चौडाइ र गहिराइ बढ्दै जाँदा खोल्साखोल्सी र नदी–नालाहरूको विकास भएको हो । यो तथ्यले के बुझाउँछ भने जमिनको सतहमा पानी बग्दा प्राकृतिक रूपमा विकास भएका साना–ठूला जति पनि डोब वा खोल्सा–खोल्सी र नदी–नालाहरू छन् तिनीहरू वर्षात्को पानी बग्नकै लागि बनेका हुन् । त्यसैले, अनुभवी प्राविधिकको सल्लाह बेगर, तिनीहरूलाई मास्ने, साँघुरो बनाउने वा अर्कोतिर फर्काउने काम गरियो भने त्यहाँ बग्ने पानीले वर्षायाममा सानोदेखि अत्यन्त विनासकारीसम्मका विपद्हरू निम्त्याउन सक्छ ।
भलपानी नजिकैको खोल्सा वा नदीमा मिसिन जाने क्रममा डाँडा–पाखामा फराकिलो पातलो तह बनाएर भिरालोतिर बग्छ । यस्ता गतिविधि वर्षाको मौसममा हामी सबैले अवलोकन गर्न सक्छाँै । यसरी बगेको पानीले खासै समस्या पार्दैन । तर यदी उक्त भिरालो पाखालाई काटेर सडक बनाइएको छ भने माथिबाट फिँजारिएर बग्दै आएको पानीको तह सडकमा सानो, होचो तर फराकिलो छाँगोको रूपमा खस्छ । यदि सडकको भित्तोलाई राम्रोसँग संरक्षण गरिएको छैन र त्यहाँको माटो खुकुलो छ वा चट्टान कमलो खालको छ भने त्यो छाँगोले सडकको भित्तामा पहिरो ल्याउँछ । त्यो बाहेक, सडकमा खसेको पानी केन्द्रीकृत भएर सडकको भिरालो भागतर्फ बग्न थाल्छ । बाटो किनारमा यसरी आएको भल पानीलाई बग्नका लागि व्यवस्थित ढल बनाइएको छ भने त त्यो पानीले समस्या उब्जाउँदैन । यद्यपि, त्यहाँ ढल छैन भने बग्ने क्रममा पानीको मात्रा र गति दुवै बढ्छ र सडकमा खहरे खोला बेगले कुद्न थाल्छ, जुन अत्यन्त विनासकारी हुन्छ । यो नै बाढी पहिरोको कारक बन्छ । भन्नुको अर्थ के हो भने सडक बनाउँदा सडकको भित्तापट्टिको किनारमा अनिवार्य रूपमा अनुभवी प्राविधिकको सल्लाह लिएर भीषण वर्षा भएको बेलाको भल पानी सजिलै अट्ने र बग्नेगरी ढल बनाउनुपर्छ । सडकको भित्तालाई पनि पहिरोबाट बचाउन संरक्षण गर्नुपर्छ । त्यसो नगर्ने हो भने अकल्पनीय विपद् भोग्नुपर्ने पनि हुनसक्छ । तथापि, माथि उल्लेखित कुराहरू विज्ञानको कुनै नयाँ निचोडचाहिँ होइनन् । बरू तपाईं हामी सबैले देखेको, सुनेको र भोगेका कुराहरूका केही अंश मात्र हुन् अर्थात् पानी बग्ने खोल्साखोल्सी मास्नु हुँदैन । सडकको भित्तापट्टि किनारमा राम्रो ढल बनाउनुपर्छ भन्ने कुरा प्राविधिकलाई मात्र होइन सर्वसाधरणलाई पनि राम्रोसँग नै थाहा छ । तर लापरबाही र उत्तरदायित्व बहन नगर्ने र त्यसो गरेवापत कुनै सजाय भोग्नु नपर्ने परिवेश हाम्रो नियति नै भएको छ, जुन कुरालाई तलको उदाहरणले पुष्टि गर्छ ।

सिन्धुपाल्चोक जिल्ला, भोटेकोसी गाउँपालिका वडा नम्बर ४, हिन्दिगाउँमा झिर्पू माध्यमिक विद्यालय छ । कोदारी राजमार्गबाट नजिकै रहेको उक्त विद्यालयको तीन तले पक्की भवन पहाडको फेदमा, एउटा खोल्साको केही भागलाई मिचेर बनाइएको देखिन्छ । कोदारी राजमार्गबाट पहाडको टुप्पातिर रहेका गाउँहरूमा जानका लागि एउटा कच्ची सडक बनाइएको छ, जुन विद्यालयकै छेउबाट जान्छ । विद्यालय छेउबाट बग्ने खोल्सालाई विल्कुल वास्ता नगरिकन, विद्यालयभन्दा माथितर्फको पाखोमा त्यो सडक बनाइएको छ । खोल्साबाट नै कतिपय ठाउँमा ओहोर दोहोर हुनेगरी कच्ची सडक बनाइएको छ । सडकमा ढलको व्यवस्था पनि गरिएको छैन । हुन त त्यो विद्यालयलाई ७२ सालको भँुइचालोले क्षति पु¥याएको थियो तर मर्मत गरेर प्रयोगमा ल्याउन सकिन्थ्यो तर बिडम्बना के भइदियो भने, स्कुल पुनर्निर्माण नहँुदै, त्यो ठाउँमा भीषण वर्षा हुँदा खोल्सामा पानीको मात्रा बढ्यो । सडकको पानी पनि त्यहीँ खोल्सामा मिसियो र खोल्साको पानीले बाढीको रूपलिँदा किनारामा कटान हुन गई पहिरो गयो । पहिरोले विद्यालय भवनका भुइँ तलाका कक्षा कोठाहरूलाई नै गर्लयाम्मै भत्काइदियो । त्यसपछि मात्र निर्णयकर्ताहरूले ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने सत्यतालाई बुझेछन् र अहिले विद्यालयलाई अर्कै ठाउँमा स्थान्तरण गरिएको छ ।

करोडौँको लागतमा बनेको त्यो सुन्दर विद्यालय भवन अहिले भूतबङ्गालामा परिणत भएको छ । अयोग्य ठाउँमा भवन बनाएको हुनाले पहिरोले विद्यालय भवन भत्काएको हो । यो लापरबाहीका लागि दोषी को भनेर खोजीनीति हुनु त परै जावस, घटनाबाट पाठ सिकेर सुध्रिने लक्षण पनि त्यहाँ देखिएन । किनभने त्यो खोल्सालाई उसको मूल बाटोबाट बग्न नदिएर गाउँको झण्डै बीच भागबाट बग्नेगरी, विद्यालयभन्दा अलिकति माथिबाट नै खोल्साको बाटो परिवर्तन गरिदिएका छन्, स्थानीयले । यो झनै नकारात्मक निर्णय हो । किनभने खोला–नालाको बहाव परिवर्तन त्यति सहज हुँदैन (अत्यावश्यक अवस्थामा अनुभवी विज्ञको सल्लाहमा मात्र यो काम गर्न सकिन्छ) र त्यसले झन् ठूलो विपद् निम्त्याउँछ । अझ विडम्बनाको अर्को कुरा के हो भने त्यै खोल्साको मूल बगर (बहाव परिवर्तन गर्नु अगाडि) को अग्रभागमा र अर्को एउटा खोल्साको बहाव क्षेत्रमा पर्नेगरी हालसालै भोटेकोसी गाउँपालिकाको कार्यालय भवन (पक्की) बनाइएको छ । यो भवन बनाइएको ठाउँ २०७२ सालको भूकम्पका कारण गएको पहिरोको प्रभावित क्षेत्र हो । त्यहाँ पुनः पहिरो गयो भने, यो भवनलाई अवश्य पनि गम्भीर असर पार्ने देखिन्छ । यस्तो जोखिमयुक्त क्षेत्रमा भवन बनाउने निर्णयको कार्यान्वयन भएको देख्दा यो देशमा कानुन छ भनेर विश्वास गर्न नै गाह्रो पर्छ ।

दोस्रो उदाहरण हो, सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका, वडा नम्बर ७ मा रहेको नागपुजे गाउँको । २०७७ साल भदौ २८ गते राति त्यहाँ पहिरो जाँदा २६ घर पूर्णरूपले भत्किए । ३१ जनाको ज्यान गयो । भोटेकोसी नदीको किनारमा रहेको नागपुजे गाउँ पहिरोको जोखिममा थिएन र त्यहाँ त्यस्तो विपद् आउला भनेर कसैले पनि सोचेको थिएन । तर स्थलगत अध्ययनले के देखायो भने नागपुजे गाउँभन्दा माथि रहेको पहाडको डाँडामा भदौ २८ गते राति भीषण पानी प¥यो । डाँडाबाट बगेर आउने भलपानी अघिल्लो वर्षजस्तै त्यहाँ प्राकृतिक रूपमा रहेको एउटा सानो खोल्सामा जम्मा भएर बग्न थाल्यो । त्यो खोल्सो नागपुजे गाउँको शिरमा रहेको फराकिलो फाँटमा आएर सकिन्छ । अर्थात्, विगत वर्षको हकमा खोल्साको भलपानी खेतमा पसेर स्वतःस्फूर्त रूपमा व्यवस्थित हुने गरेको देखिन्छ । तर भदौ २८ गते राति भने प्रकृतिले अर्कै बाटो रोजेको देखियो ।
नागपुजे गाउँबाट पहाडको माथिल्लो भागमा जानका लागि कच्ची सडक निर्माण गरिएको रहेछ । सडकको किनारामा कहीँकतै पनि ढल बनाइएको छैन । उकालो चढ्ने क्रममा यो सडकले माथि उल्लेख गरिएको खोल्सालाई विभिन्न ठाउँमा पाँच पटक नाग्छ । सडक र खोल्सो भेट भएको ठाउँमा खोल्सो अलिकति गहिरो भएको हुनाले सडकको भल पानी पनि खोल्सामा नै मिसिन्छ, त्यो पनि एक ठाउँबाट मात्र होइन पाँच विभिन्न ठाउँबाट । फलस्वरूप, २८ गते राति खोल्सामा बग्ने पानीको मात्रा र गति दुवै अस्वाभाविक रूपमा बढ्यो । जसले गर्दा खोल्साको सतह (बगर)मा र किनारामा व्यापक कटान भयो र गेग्रान–मिश्रित बाढी माथि उल्लेखित फाँटमा मढारिदै नागपुजे गाउँमा हामफाल्दा धनजनको क्षति भयो ।
हुन त यो विपद्को पहिलो कारण स्थानीयको भनाइअनुसार पानी अत्यधिक पर्नु नै हो । भारी वर्षा सँगसँगै पहिरो गएको कुरा उनीहरू बताउँछन् । खासमा त्यो रात वा त्यो भन्दा अगाडिको साताभर त्यहाँ पानी कति प¥यो भन्ने तथ्याङ्क उपलब्ध छैन । किनभने वर्षामापन उपकरण नागपुजेमा स्थापना गरिएको छैन । नागपुजेबाट नजिकै रहेका वर्षामापन स्टेसन भनेको बाह्रबिसे (८.५ किमि टाढा) र घुमथाङ स्टेसन (१.५ किमि टाढा) हुन् । घटना भएको बेलादेखि अगाडिको २४ घण्टामा बाह्रबिसे स्टेसन र घुमथाङ स्टेसनमा क्रमशः २५ मिमि र ४८ मिमि मात्र पानी परेको तथ्याङ्क देखिन्छ, जुन अस्वाभाविक उच्च होइन । यसको अर्थ नागपुजे र यसको छेउछाउमा त्यो रात खण्डवृष्टि र अतिवृष्टि भएको हुनुपर्छ, जसले गर्दा त्यहाँ गेग्रान–मिश्रित बाढी र पहिरोको निर्माण हुन गई धनजनको क्षति भयो । तर एउटा अर्को सत्य कुरा के पनि हो भने सडकको भलपानी खोल्सामा नमिसिएको भए विपद्को स्तर यति भयावह अवश्य पनि हुने थिएन ।

सडक बनाउने प्राविधिकलाई थाहा हुनुपर्ने हो कि सडकको भलपानीलाई ढल बनाएर व्यवस्थापन नगरिकन खोल्सामा स्वतः मिसिने स्थितिमा छोडेपछि यस्तो समस्या आउनसक्छ । यो लापरबाहीको जिम्मेवारी कसैले लिनुपर्छ कि पर्दैन भन्ने अहम सवाल अझै अनुत्तरित छ ।
माथि उल्लेखित दुई घटनाहरू मन्सुनले उब्जाएका विपद्का प्रतिनिधिमूलक घटना मात्र हुन् । बाढी पहिरोजस्ता विपद्का घटना भएका धेरैजसो ठाउँमा मानव–सिर्जित क्रियाकलाप (अवैज्ञानिक तरिकाले सडक खन्ने र नदी–नाला र खोल्सा–खोल्सीको क्षेत्रलाई अतिक्रमण गर्नेहरूको भूमिका प्रमुख रूपमा देखिएको छ । अब तिहार सकिने बित्तिकै डोजर चलाएर बाटो खन्ने कामले फेरि प्राथमिकता पाउनेछ । किनभने अर्को साल स्थानीय चुनावमा भोट पाउन त्यो एउटा अचुक अस्त्र त हुनसक्छ तर त्यसले निम्त्याउने विपद्लाई हामी मतदाताहरूले अत्यन्त कष्टका साथ भोग्नुपर्ने हुन्छ । त्यसैले, यो प्रवृत्तिलाई हामी सबै मिलेर हतोत्साही बनाउनु बाहेक अर्को काम लाग्ने विकल्प हामीसँग छैन । त्यसको लागि भू–उपयोग ऐन अनुरूप नदी–नालाहरूको बहाव क्षेत्र स्थानीय सरकारले यथाशीघ्र चाँडो निक्र्योल गर्नुपर्छ । उक्त क्षेत्रको संरक्षण र संहारको जिम्मा पनि लिनुपर्छ । त्यस्तै, सडकको भलपानीको कारण वा सडक निर्माण गर्दाको प्राविधिक त्रुटिका कारण क्षति पुग्न गए, सडक खन्ने निकायलाई नै जिम्मेवार ठह-याइ क्षतिपूर्तिको व्यवस्था कानुनी रूपमा नै गर्नु मुनासिव हुन्छ । विपद् बीमाको व्यवस्था गाउँ सहर सबैतिर पु¥याउन सके सरकारलाई पुनर्निर्माणको भार निकै कम पर्छ । सबै विद्यालयमा वर्षा मापन उपकरण स्थापना गरी वर्षाको तथ्याङ्क राख्न सके अतिवृष्टि र खण्डवृष्टिसँग सम्बन्धित विपद्हरूको प्रभावलाई न्यूनीकरण गर्ने उपायहरूको पहिचान गर्न सहयोग पुग्छ । यी सबै कुराहरूको साथसाथै अझ महìवपूर्ण कुरा चै के हो भने जबसम्म दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकिँदैन तबसम्म हाम्रो देशमा बाढी पहिरोसँग सम्बन्धित विपद्का घटनाहरू घट्दैनन् बरु निरन्तर रूपमा बढी नै रहन्छन् । गोरखापत्र