एमसिसी सम्झौताबारे दलहरुबीचमै विवाद , सर्वदलीय बैठक निष्कर्षविहीन

-


     मर्दी न्युज    
     ४ पुस २०७८ मा प्रकाशित


काठमाडौं । एमसिसी सम्झौता संसदबाट पारित गर्ने सम्बन्धमा सत्ता गठबन्धनका दलहरुबीच मै विवाद भएपछि आज (आइतबार)को सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्दा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले ठाडै अस्वीकार गरेका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता कार्की र काँग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसिसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको जानकारी दिए ।

बैठकपछि प्रेम सुवालले भने , ‘यदि माओवादी र नेकपा एसको अडान कायमै रहन्छ भने एमसिसी पास हुँदैन । उनीहरुले अडान फेरे भने जनतालाई जवाफ दिनुपर्छ । गठबन्धन नै भत्किन्छ र नयाँ बन्छ भने त्यो हाम्रो सरोकार होइन ।’

सुवालका अनुसार सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव मौन बसेका थिए भने बाबुराम भट्टराईले एमसिसी पास गर्नुपर्ने बताएका थिए ।