
जापान । जापानमा बुधबार ४१ हजार ४ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० हजार बढी संक्रमण भएको हो भने मंगलबार ३२ हजार १ सय ९५ जना संक्रमित भएका थिए ।
कोरोना संक्रमण उच्च वृद्धि भएपछि सरकारले टोकियोसहित १३ प्रान्तमा जनवरी २१ देखि फेब्रुवरी १३ सम्म अर्धआपतकाल बिस्तार निर्णय गरेको छ । प्रधानमन्त्री फुमियो किशिदाले सरोकारवाला निकाय र विज्ञहरूसँगको छलफलपछि बुधबार अर्धआपतकाल बिस्तार गर्ने घोषणा गरेका हुन् ।
टोकियो, खानागावा, साईतामा, चिबा, गुन्मा, निगाता, आईची, गिफु, मिए, खागावा, नागासाकी, कुमामोतो र मियाजाकी प्रान्तमा अर्ध आपतकाल लागू हुने भएको हो । यसअघि जनवरी ९ देखि यामागुची, हिरोसीमा र ओकिनावा प्रान्तमा जारी रहेको अर्ध-आपतकाल पनि फेब्रुवरी १३ सम्म कायम रहने जनाईएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १९ लाख ८० हजार ३ सय ८२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप १५ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ७४ जना पुगेको छ ।
४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी र ३८ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ७ हजार ३ सय ७७, ओसाकामा ६ हजार १ सय एक, आइचीमा २ हजार ८ सय ८१, ह्योगो २ हजार ५ सय १४, खानागावामा २ हजार २ सय ८८, साईतामामा २ हजार २ सय १५, फुकुओकामा २ हजार २ सय आठ, चिबामा १ हजार ६ सय पाँच, ओकिनावामा १ हजार ४ सय ४३, क्योतोमा १ हजार २ सय दुई, होक्काईदोमा १ हजार १ सय ७० र हिरोसीमामा १ हजार ४२ जना संक्रमित थपिए । संक्रमितमध्ये २ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ५४ हजार २ सय ९५ जनाको उपचार भइरहेको छ ।
१७ लाख ५१ हजार २ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोमबार ९२ हजार ८ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको थियो।