रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

-


     मर्दी न्युज    
     १६ फाल्गुन २०७८ मा प्रकाशित


काठमाडौं । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्यान्डमा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा ४ र माल्डावामा २ जना सकुशल पुगेका जनाएको छ ।

सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्यान्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपाली दोस्रोमुलुक जान रोकिएका छन् ।

उनीहरुले आज साँझसम्म सीमा क्रस गर्न सक्ने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् । उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो ।

बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए । उच्चस्तरीय समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले सङ्घका अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्यान्डको सीमा क्षेत्रमा आफैँ परिचालित भएको जानकारी दिए । रासस