कैलालीमा भीषण आगलागी

-


     रासस    
     वैशाख ११ गते २०७९ मा प्रकाशित


Mardi

सांकेतिक तस्विर

सुदूरपश्चिम, ११ वैशाख । कैलालीको कैलारी गाउँपालिका–७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ ।

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको जानकारी दिए । घटनाबाट पुगेको क्षतिको एकीन विवरण आउन बाँकी छ ।

आगलागी भएको खबर पाएपछि भजनी प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी थापाले दुई वटा दमकलको सहायतामा प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि मात्रै आगो नियन्त्रणमा आइसकेको जानकारी आएको बताउनुभयो ।

घटनास्थलतर्फ गइरहेका प्रजिअ थापाले भने, ‘आगलागी पीडितको उद्धार र राहतको व्यवस्थापनको काम पनि तत्कालै सुरु गर्न लागेका छौँ ।’’