
काठमाडौँ। स्थानीय तह निर्वाचनका क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा बुथ प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको छ ।
झडपका कारण अझै मतदान प्रक्रिया सुरु हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।
झडप बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरिएको उनले जानकारी दिए । अहिले स्थिति सामान्य बन्दै गएको र डिएसपीको नेतृत्वमा सुरक्षा फोर्स थपिएको उनले जानकारी दिए ।
“हालसम्म मतदान सुरु हुन सकेको छैन । स्थिति सामान्य बन्दै छ,” उनले भने, “सबैसँग छलफल हुँदै छ । अब केही बेरमै मतदान सुरु हुन्छ ।”
रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप
यस्तै रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ।
खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए।
झडप पछि राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ।
यस्तै दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप भएको छ।
बाहिर झडप भए पनि भित्र मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए।

