पोखरा महानगरपालिकामा मतान्तर फराकिलो बनाउँदै धनराज

-


     मर्दी न्युज    
     जेठ ८ गते २०७९ मा प्रकाशित


पोखरा । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख ५ हजार ८६२ मतगणना सकिएको छ ।

पछिल्लो मतगणनाको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले आफ्नो अग्रतालाई कायमै राखेका छन् । आचार्य अहिलेसम्म तीन हजार ४१३ मतले अघि छन् । आचार्यले ४२ हजार ३४८ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ३८ हजार ९३५ मत ल्याएका छन् ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४४ हजार ३०१ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटको ४२ हजार ५३४ मत रहेको छ । उपप्रमुखमा एक हजार ७६७ मतान्तर छ ।

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । महानगरका ३३ वडामध्येमा अहिले वडा नं १०, ११, १६, १७, १८, १९, ३९, ३० र ३१ नं को मतगणना भइरहेको छ । गणना बाँकी रहेका वडामा २१, २२, ३२ र ३३ नं रहेका छन् । हालसम्म २० वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।