
काठमाडौँ । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो।
लामाले काठमाडौँ सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका समेत रहेकी मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।
यस अघि लामाको रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर मंगलबार बिहानैदेखि प्रदर्शन भएको थियो । बौद्ध समुदाय र तामाङ संघसंस्थाले फिल्मको पोस्टर समेत जलाएका थिए ।
प्रदर्शन चर्किएपछि चावहिलस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको छ ।
एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुने जनाएको छ ।

